काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विराजभक्त श्रेष्ठले आफुले बागमती प्रदेश सभामार्फत सिकेको संसदीय अभ्यास, अनुभव र ज्ञानलाई प्रतिनिधि सभामा सशक्त सदुपयोग गर्ने बताएका छन् ।
वागमती प्रदेशका पूर्व सभासद् श्रेष्ठले हरप्रहरसँग कुरा गर्दै बागमती प्रदेश सभाको पहिलो कार्यकालमा व्यक्तिगत सिकाई र समग्र संघीयता कार्यान्वयनका सवालमा निकै फलदायी रहेका बताउँदै आफ्ना अनुभव र सिकाईको सदुपयोग प्रतिनिधि सभामा गर्ने बताए ।
‘प्रदेश सभासदस् रूपमा युवा, महिला, बालबालिका, जनजाति, आदिवासी, अल्पसंख्यकसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यावरण, संस्कृति, सम्पदाको संरक्षण र दिगो विकासमा सक्रिय भूमिका खेल्दै बजेट, कानून तथा नीति निर्माणको कार्यमा शशक्त भूमिका खेल्न सफल भएको छु । अब संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा मार्फत पहिलेको अनुभवहरुलाई सशक्त सदुपयोग गर्नेछु’ – श्रेष्ठले भने ।
आफ्नो उम्मदेवारी भ्रष्टाचार विरुद्ध पनि रहेको श्रेष्ठले थपे । ‘अब हामी भ्रष्टाचारीका कुरा सुनेर ताली बजाउने मान्छे होइनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन पनि उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
अहिले श्रेष्ठ चुनाबी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । घरदैलो कार्यक्रमको क्रममा आफु विशेष गरी क्षेत्र नम्बरं ८ का स्थानीय जनताको मर्का बुझ्नमा केन्द्रीत भएको उनले जानकारी दिए । प्रदेश सभाका पूर्व सदस्य श्रेष्ठ युवा पुस्तामाझ लोकप्रिय रहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा विशेष गरी स्वतन्त्र पार्टीका श्रेष्ठ र नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसै क्षेत्रमा जनता समाजवादी पार्टी नेपालको छाता चिन्हबाट मनोज नेवाः खड्गीले पनि उम्मेदवारी दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३