ललितपुरको गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा लागू औषध न्यूनीकरणका विषयमा समाचार कसरी सम्प्रेषण गर्नेलगायत पत्रकारको दायित्वका बारेमा सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको हो ।
गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीलगायतले प्रस्तुती दिएका थिए ।
पछिल्लो समय लागू औषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरु माझ सचेतना फैलाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने वडाध्यक्ष घिमिरको भनाई छ । लागू औषध नियन्त्रणको अभियान समेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरुमा भएको वितृष्णका कारण उनीहरु लागू औषधमा फसेको बताए । वडा कार्यालयले युवाहरुलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरु समेत गरेको छ ।
कार्यक्रमको दोस्रो सत्रमा अन्तरक्रिया राखिएको थियो । नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रुपमा प्रस्तुती दिए । प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मी माझ प्रकाश पारे । उनले पछिल्लो समय महासंघको भूमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको बताए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । ‘सञ्चारकर्मीहरुले लागू औषध नियन्त्रणमा अह्म भूमिका खेल्न सक्छन् तर यसबारेमा समाचार संकलन तथा सम्प्रेषण गर्दा ध्यान नदिएमा नकारात्मक सन्देश पनि प्रवाह हुन सक्छ, त्यसैले उहाँहरुलाई थप ज्ञान हासिल होस् भन्ने हेतुले तालिम आयोजना गरेका हौं,’ उनले भने ।
तालिममा ८५ जनाभन्दा बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७