नारी दिवसबारे - कविता !
- रीता देवी प्रधान

छानामाथि बिशाल आकाश त हुन्थ्यो
तर आकाश छानाले छेकिन्थ्यो
झ्यालबाहिर खुल्ला हरियाली र चउर त देखिन्थ्यो
तर झ्यालमा बाक्लो पर्दा हुन्थ्यो
भित्रबाहिर गर्न ढोका त हुन्थ्यो
तर ढोकामा हरदम बडेमानको आग्लो हुन्थ्यो
त्यही पर्दा भएको झयालभित्र
आग्लो लगाइएको ढोकाभित्र
र आकाश छेकिएको छानोमुनि
बाँचिरहेको जीवन हो नारी ।

समय संधै उही रहन्न
गतिलाई संधै रोक्न सकिन्न
पाइलाहरुको जागरुक गतिले
निरन्तरको घन्केको आवाजले
कयौंको संघर्ष र बलिदानले
कोल्टे फेरेको छ समयले
गतिले नयाँ मोड पाएको छ
आज छाना उघारेर
आकाश खुल्ला भएको छ
दृश्यहरु हेर्न पर्दा हटाइएको छ
ढोकामा आग्लो निकाल्न मिल्ने भएको छ ।

परिवर्तनको यो मोडमा
म त भन्छु
अझै गर्न बाँकी छ धेरै
पुग्नु छ अझै धेरै पर । बुझिराख
आकाश हो नारी
धरती हो नारी
त्यसैले
नछेक आकाशलाई
नरोक पाइलालाई ।

 

  • रीता देवी प्रधान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार